चितवन, पुस २४ । इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ। इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो। गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले सुकुम्बासी परिवारको घर निर्माणको लागि शिलान्याससमेत गरिसकेकी छन्।
वर्षौंदेखि चुहिने झुपडीमा बसेका परिवारका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको गाउँपालिकाले जनाएको छ। ‘शौचालय र खानेपानीको सुविधासहित घर निर्माण गरी एकीकृत नमूना बस्ती बनाउन लागिएको हो,’ गाउँपालिकाकी अध्यक्ष गुरूङले भनिन्, ‘हरेक नागरिकको सुरक्षित आवासका लागि गाउँपालिकाले यो योजना अघि बढाएको हो।’
वडा नंं. ७ का वडाध्यक्ष बमबहादुर थापा ‘विजय’का अनुसार यो बस्तीमा ४६ घरधुरीमध्ये ३५ परिवार चेपाङ समुदायका छन् भने अन्य दलित र तामाङ समुदायका छन्। वर्षौंदेखि अभावकै अभावमा दिन गुजार्दै आएका उनीहरू गाउँपालिकाले घर बनाइदिने भएपछि खुसी छन्। – रासस