हेटौँडा, पुस २४ । प्रदेश नम्बर–३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा सुरु भएको छ। नेकपाका धेरैजसो सांसदको उपस्थिति रहेको बैठकमा प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती तोक्ने तयारी गरेको नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए।
नेकपाका सांसदहरुले यसअघि प्रदेशको नामाकरणमा खासै कुरा नउठाए पनि प्रदेश राजधानीका विषयमा संसदीय दलको बैठकमा तीन दिनसम्म आफ्ना धारणा राखेका छन्। फेरि पनि बाँकी सांसद र नेकपाका प्रदेश कमिटीको नेतृत्व गरिरहेका नेताहरुले यस विषयमा धारणा राख्ने क्रम जारी छ।
प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती राख्ने विषयमा दोस्रो पटक नेकपाको सचिवालयले निर्देशन दिएपछि अब यो निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहित नेताहरु हेटौँडा फर्किएका छन्।
राजधानीका विषयमा झण्डै एक हप्तादेखि काङ्ग्रेस, नेकपा लगायतका पार्टीका सांसदहरुले निकै बहस र छलफल गरेका छन्। अब केही दिनमा नै राजधानी र नामाकरणका विषयमा मतदान गर्ने तयारी गरिएको छ।