पुस, २४ । दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स फ्लाइट रेकर्डर अमेरिका वा बोइङ्ग कम्पनीलाई हस्तान्तरण नगर्ने इरानले बताएको छ।
बुधबार इरानबाट युक्रेनको किएभका लागि उडेको युक्रेनी एयरलाइन्सको विमान उडान भरेको केहीबेरमै दुर्घटनामा परेको थियो। दुर्घटनामा परेरको विमानमा रहेका १६७ यात्रु र ९ चालक दलका सदस्यको मृत्यु भएको थियो।
युक्रेनी विमान बोइङ्ग ७३७–८०० उडेको केही मिनेटमै खसेको हो। तेहरान विमानस्थलबाट उडेर केही पर पुगेपछि दुर्घटनाग्रस्त भएको विमानका कोही पनि बाँचेनन्।
उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्था अनुसार इरानसँग दुर्घटनाको कारणका सम्बन्धमा हुने अनुसन्धानको नेतृत्व गर्ने अधिकार छ। तर यस्तो अनुसन्धानमा विमान उत्पादनको संलग्नता हुने गरेको छ। यस्तै विज्ञहरुका अनुसार केही देशहरु ब्ल्याक बक्स विश्लेषण गर्नका लागि सक्षम रहेका छन्।
इरान र अमेरिकाबिच तनाव उच्च भएका बेला विमान दुर्घटना भएको हो। इरानले इराकमा रहेका अमेरिकी सैनिकलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको केही घण्टापछि नै विमान दुर्घटना भएको हो। तर अहिलेसम्म मिसाइल आक्रमण र विमान दुर्घटनाबिच सम्बन्ध रहेको भन्ने कुनै प्रमाण भेटिएको छैन।
युक्रेनी विमान अमेरिकी निर्माता कम्पनी बोइङ्गको हो। यस्तोमा दुर्घटनाको अनुसन्धान अमेरिकाको यातायात सुरक्षा बोर्डको नेतृत्वमा हुने पर्ने हो। तर इरानले ब्ल्याक बक्स अमेरिका वा बोइङ्गलाई नदिने बताएपछि त्यसको सम्भावना नरहेको देखिएको छ।