तनहुँ, पुस २४ । भानु नगरपालिका वडा नं ७, ८ र ९ लाई लक्ष्य गरी खानेपानी वितरण गर्ने उद्देश्यले मर्स्याङ्दी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा भएको छ। उक्त वडामा पानीको स्रोत नभएपछि बस्तीदेखि करिब तीन किलोमिटर दूरीमा पर्ने मर्स्याङ्दी नदी किनारबाट पानी तान्न लागिएको हो।
आयोजना सम्पन्न भएपछि तीन वडाका करीब छ हजार घरधुरीका मानिस प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ। आयोजनाको काम सुरु भएपछि स्थानीय खुसी छन्। चितुवाबाट प्रभावित उक्त नगरपालिकाका बासिन्दा साँझ–बिहान घरदेखि टाढा पुगेर कुवा र खोलाको पानी ल्याउनुपर्ने बाध्यताका कारण त्रसित हुँदै आएका छन्।
समुद्री सतहबाट करिब दश हजार ३० मीटर उचाइमा अवस्थित गढीमाई मन्दिरसम्म पानी तानी लैजाने योजनानुरुप निर्माण अघि बढाइएको नगरपालिका–८ का वडाध्यक्ष भरतराज ढकालले जानकारी दिए। नदी किनारमा करिब दश मिटर गहिरो इनार खनेर पानी निकालेपछि डेढ लाख लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी तीन ट्याङकीमार्फत प्रशोधन गरेर खानेपानी वितरण गरिने योजना रहेको बताइएको छ।
खोला र इनारको पानी प्रयोग गर्दै आएका वडाहरूमा खानेपानीको समस्यालाई दिगोरुपमा समाधान गर्न गण्डकी प्रदेश सरकारबाट मर्स्याङ्दी लिफ्टिङ खानेपानी आयोजनाका लागि रु २२ करोड विनियोजन भएको छ।
चालू आर्थिक वर्ष २०७६/०७७ मा उक्त खानेपानी आयोजनाका लागि रु चार करोड पहिलो चरणमा विनियोजन भएसंँगै निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ।आयोजना सम्पन्न भएपछि नगरपालिकाका तीन वडाका बासिन्दालाई खानेपानी सहज हुने विश्वास गरिएको छ। – रासस