हेटौंडा, पुस २४ । मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेटको कारमा लागू औषध तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ।
मकवानपुरको मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर–०१–सीएम ६२४६ नम्बरको कारमा लुकाएर राखिएको लागू औषध गाँजा १० किलो १ सय ८० ग्रामसहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कार चालक सर्लाहीको हरिपुर नगरपालिका–९ घर भएका २४ वर्षी रंजित कुमार गुप्ता र कारमा सवार सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने ३१ वर्षी बालकृष्ण गुप्ता छन्।
प्रहरीले गाँजासहित पक्राउ परेकाहरुलाई हिरासतमा लिइ थप अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले शनिबार राति पनि भारतीय नम्बर प्लेटको कारमा लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई पक्राउ गरेको थियो।
मकवानपुर प्रहरीले बुधबार अपराह्न ४ बजेतिर मोटरसाइकलमा गाँजा तस्करी गर्ने अर्का १ जनालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ बस्ते ३७ वर्षीय कृष्ण थापा मगर छन्।
प्रदेश–०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकलमा सवार मगरको साथबाट ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।