रौतहट, पुस २४। रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमाथि आगजनी भएको छ।
हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो। आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ।
आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ। आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको थियो। सडक श्रेष्ठ ढुकुछु सञ्जीवनी निर्माण कम्पनीले बनाउँदै आइरहेको थियो।
स्काभेटरमा बिहीबार बिहान २ बजे आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले आगो निभाएका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले बताए।