जनकपुर, पुस २४ । प्रदेश २ को प्रदेशसभाको बिहीबार बोलाएको बैठक बस्दै नबसी स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।
यादवका अनुसार अब बैठक पुस २८ गते मंगलबार दिउँसो १ बजे निर्धारण गरिएको छ। यसअघि पुस १७ गते तोकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो। त्यसअघि पुस १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्व गरेका थिए।
गत आर्थिक बर्ष २०७५/७६ मा संचालन गरिएका योजनाहरुको भुक्तानी पाउनुपर्ने माग राख्दै सांसदहरुले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन्।
गत बर्ष सञ्चालन गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हालसम्म हुन सकेको छैन। सांसदहरुले भुक्तानी नपाएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन्।
प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको नामांकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ। गत भदौ ५ गते दलहरुले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराए पनि त्यस उपर छलफल हुन सकेको छैन्। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेको छ।
प्रमुख प्रतिपक्षी नेकपाले जानकी र कांग्रेसले मिथिला–भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ ।