चितवन, पुस २४ । सरसफाइमा सक्रिय समूह ‘वे ग्रुप’ अगुवाइमा बिहीबार फोहोर गर्ने व्यक्तिलाई कारवाही गरिएको छ। जथाभावी फोहोर गरेको प्रमाणको आधारमा वे ग्रुपको भरतपुर १० वडा समितिले कारवाही गराएको हो।
भरतपुर १० दूरसञ्चार रोडमा फालेको फोहोरमा भेटिएको कागजपत्रको आधारमा फोहोर फाल्ने व्यक्ति पहिचान गरी वडा नं. १० का अध्यक्ष अरूण ‘पीडित’ भण्डारीसँगको समन्वयमा जरिवाना गराएर छाडिएको वे ग्रुप नेपाल भरतपुर १० वडा समिति अध्यक्ष उत्तम तिवारीले जानकारी दिए।
यसअघि पनि नारायणी लिफ्ट सिंचाई र स्वास्थ्य कार्यालय चितवनलाई जथाभावी फोहोर गरेको भन्दै भरतपुर महानगरपालिकाले जरिवानास्वरूप कारवाही गरिसकेको छ। सरकारी कार्यालयले नै जथाभावी फोहोर गरेर वातावरण प्रदूषण गर्दा जनमानसमा नकारात्मक छाप पर्न जाने हुँदा कुनै पनि सरकारी कार्यालयले फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने वे ग्रुप नेपालका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिए।
वातावरण सरसफाइको लागि एक व्यक्तिबाट मात्रै सम्भव नहुने हुँदा हरेकले आ–आफ्नो घर तथा व्यवसायबाट निस्किएको फोहोर आफैँले छुट्याएर व्यवस्थापन गर्न उनले सुझाव दिए। वे ग्रुप नेपाल विगत चारवर्षदेखि भरतपुरमा रहेर सार्वजनिक स्थलको सरसफाइसँगै विभिन्न खालका सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएको छ। समूहले भरतपुर महानगरपालिकालाई नै सरसफाइयुक्त बनाउने उद्देश्यले महानगरको वडा नं. ४ र १० मा वडा समितिसमेत गठन गरिसकेको छ।