पुस २४ । कोशी टप्पुमा यस वर्षको चरा गणना शुक्रबारदेखि शुरु हुँदैछ।
बराह क्षेत्रस्थित कोशी नदीको पुलबाट शुरु हुने गणना भीमनगरस्थित कोशी ब्यारेजमा पुगेर समापन हुने बताइएको छ।
हिमाली प्रकृतिले कोशी पक्षी समाजको सहयोगमा वर्षेनी ५ दिन लगाएर गणना गर्दै आएको छ। समाजका अध्यक्ष अनिष तिम्सिनाका अनुसार दुई दिन पानीबाट र तीन दिन बाहिरबाट चरा गणना हुन्छ। दुई वटा डुङ्गाबाट नदीमा बगेर पूर्वी र पश्चिमी भागबाट गणना गरिन्छ।
कोशी टप्पु वन्यजन्तु आरक्ष बाहिर उत्तरको भागमा शुक्रबार पानी चराको गणना सम्पन्न गरेर आरक्षभित्र कोशी ब्यारेजसम्म शनिबार गणना गरिने तिम्सिनाले बताए।
कोशी टप्पुमा सन् १९८७ बाट चरा गणना गरिंदै आएको छ ।नेपालमा पाइने ८८४ प्रजातिका चरामध्ये ५२८ प्रजातिका चरा कोशी टप्पुमा पाइन्छ।
वेटल्याण्ड इन्टरनेशनल नामक संस्थाले गएको ३१ वर्षदेखि कोशीमा चरा गणना गर्दै आएको छ।
यस अवधिमा हरेक वर्ष चराको संख्या घट्दो क्रममा पाइएको छ। चीनका विभिन्न ठाउँ र साइबेरिया लगायतबाट कोशीमा आउने जलपक्षीमध्ये धेरैजसो अन्न मात्रै खाने छन्।
अन्न पाइने एकान्त खेतहरू प्लटिङ हुन थालेकाले आहाराको खोजीमा चरा भारततर्फ पुगेको चराविद्हरू बताउँछन् । आरक्ष आसपासका मानिसको कोशी नदीमा सहज आउजाउले पनि चरालाई असहज हुने भएकाले उडेर अन्यत्र जाने गरेको बताइन्छ।