काठमाडौं, पुस २४। प्रदेश नम्बर २ ले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। सुनसरीको इनरुवामा बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै प्रदेश-२ ले सुखद सुरुवात गरेको हो।
इनरुवा रंगशालामा कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य प्रदेश-२ ले २२ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
प्रदेश २ को जितमा हसिम अन्सारीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले । सुरज पटेल ३३ रनमा अविजित रहे । कर्णालीका दिनेश अधिकारी र अनुज चुनाराले १/१ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३१ ओभर ५ बलमा अलआउट हुँदै १ सय २९ रन बनाएको थियो। कर्णालीको लागि कप्तान रबिन्द्र शाहीले सर्वाधिक ४६ रन बनाए। यस्तै दिवन पुनले २३, प्रकाश जैसीले १५ तथा विपिन रावलले १० रन बनाए। प्रदेश-२ का महबुब आलमले ३ विकेट लिए। यस्तै हरि शंकर शाह र आदील अन्सारीले २/२ विकेट लिए।
जितसँगै प्रदेश-२ ले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। समूह’बी’को प्रदेश-२ ले १ खेलमा २ अंक जोडेको छ र समूहको दोस्रो स्थानमा छ।
लगातार दुई खेलमा हार व्यहोरेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ।