चितवन, पुस २४ । उद्योग वाणिज्य संघ चितवनको ५३औँ वार्षिक साधारण सभा तथा अधिवेशनको पूर्वसन्ध्यामा नारायणगढका पुराना व्यवसायी ज्ञानेन्द्रमान शाक्यको प्यानलले बिहीबार उम्मेदवारी घोषणा गरेको छ। शाक्यले निवर्तमान तृतीय उपाध्यक्ष विष्णुप्रसाद कँडेललाई वरिष्ठ उपाध्यक्षमा सँगै लिएर उम्मेदवारी घोषणा गरेका हुन्।
प्यानल नै उम्मेदवारीमा आउने पक्का भए पनि २९ सदस्यीय कार्यसमितिको लागि भने नाम सार्वजनिक गरिसकेको छैन। योसँगै दुई प्यानल चुनावी मैदानमा देखिने पक्का भएको छ।
संस्थापन पक्षले यसअघि नै निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठलाई अध्यक्ष र वर्तमान वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षको पदमै दोहोर्याउने सहमति गरिसकेको छ।
संस्थापन पक्षले गोलाप्रथाबाट उम्मेदवारीको टुंगो लगाएकोले त्यसको विरूद्ध लोकतान्त्रिक प्रणालीमार्फत चुनावी मैदानमा उभिनको लागि प्यानलसहितको उम्मेदवारी घोषणा गरिएको अध्यक्ष पदका उम्मेदवारी ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए।
को हुन ज्ञानेन्द्रमान शाक्य ?
नारायणगढस्थित लोकमान एण्ड सन्स सुनचाँदी पसलका सञ्चालक ज्ञानेन्द्रमान शाक्य चितवनका पुराना व्यवसायी हुन्। हजुरबाको पालादेखि नै सुनचाँदी व्यवसायमा रहेका उनले यसअघि उद्योग वाणिज्य संघ चितवनको ६ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन्।
पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईसँग अध्यक्षमा झिनो मतान्तरले पराजित भएका शाक्यले अघिल्लो अधिवेशनमा पनि अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए। तर, पछि वर्तमान अध्यक्ष सहनलाल प्रधानलाई सहयोग गर्ने गरी आफूले उम्मेदवारी फिर्ता गरे पनि यसपटकको उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्।
उद्योगी, व्यवसायीको हक हितमा संस्थाभित्र र बाहिर रहेरै पनि महत्त्वपूर्ण योगदान दिँदै आएकोले मतदाताको मन जित्न सहज भएको उनको दाबी छ। करिब चार हजार मतदाता रहेको उद्योग वाणिज्य संघ चितवनको यसपटकको अध्यक्ष पद जित्नेमा आफू ढुक्क रहेको उनले बताए।
को हुन् विष्णुप्रसाद कँडेल ?
दुई कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका नारायणगढस्थित सञ्जु एयर कन्डिसनका सञ्चालक विष्णुप्रसाद कँडेलले यसपटकको उद्योग वाणिज्य संघ चितवनको अधिवेशनको लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिँदैछन्।
ज्ञानेन्द्रमान शाक्यको टिममा रहेर काम गर्न वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी दिइएको उनले बताए। यसअघिको अधिवेशनमा हालका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठसँग पराजित भएका उनी अहिले फेरि वरिष्ठ उपाध्यक्ष पदमै चुनावी मैदानमा उत्रिएका छन्।
उनी चौतारी बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष, लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष, घरबहाल उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका संस्थापक कोषाध्यक्षलगायतका जिम्मेवारी सम्हालिसकेका कँडेलले पनि यसपटकको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा आफूलाई मतदान गर्न आग्रह गरेका छन्।
उद्योग वाणिज्य संघ चितवनको ५३ वार्षिकोत्सव तथा अधिवेशन यही पुस २८ र २९ गते नारायणगढमा हुँदैछ। अधिवेशनमा भोलि शुक्रबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।