काठमाडौं, पुस २५ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी सासूको निधनप्रति सर्वोच्च अदालतले पत्रिकामा श्रद्धाञ्जली छपाएको छ।
शुक्रबार गोरखापत्र दैनिकमा सर्वोच्च परिवारको नाममा सरकारी खर्चमै राणाकी सासू लक्ष्मीदेवी क्षेत्री थापाको निधनप्रति १३औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली छपाएको हो।
सरकारी खर्चमै व्यक्तिका बारेमा शुभकामना, श्रद्धाञ्जली छाप्नुलाई पदीय हैसियतको दुरुपयोग गरी राज्य कोषको दोहनका रुपमा लिने गरिन्छ।
२००२ साल भदौ २२ गते जन्म भएकी राणाकी श्रीमती रेजी राणाकी आमाको यही पुस १३ गते निधन भएको थियो।
गोरखापत्रमा छापिएको श्रद्धाञ्जलीमा उल्लेख गरिएको छ, ‘सम्माननीय प्रधान न्यायाधीश श्री चालेन्द्र शम्शेर जबरा ज्यूकी धर्मपत्नी श्रीमती रेजी राणाकी ममतामयी आमा लक्ष्मीदेवि क्षेत्री थापाको २०७६/९/१३ गते असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै आज १३ औं दिनको पुण्यतिथिमा दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’
पत्रिकामा छापिएको श्रद्धाञ्जलीबारे सर्वोच्चका अधिकारीहरुले कुनै प्रतिक्रिया जनाउन मानेनन्। एक अधिकारीले भने, ‘यो विषयमा मलाई भन्दा अरुलाई नै सोध्नुहोस् न।’
केही दिनअघि आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै प्रधानन्यायाधीश राणाले देशको ढुंगा, माटोको संरक्षण गर्ने दायित्वसमेत संविधानले अदालतलाई दिएको बताउँदै सार्वजनिक सम्पत्तिको संरक्षणमा सर्वोच्च अदालत गम्भीर रहेको बताएका थिए।