धनुषा, पुस २५ । धनुषामा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ। मिथिला नगरपालिका वडा ५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरको ठक्करबाट ज्यान गएको हो।
मर्निङवाकमा रहेका महतोलाई बिहान साढे चारबजे टिपरले ठक्कर दिएको थियो। ठक्कर दिने ना ७ ख ६४१३ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीय बासिन्दाहरुले टिपर सञ्चालकले महतोको नियोजित हत्या गरेको आरोप लगाएका छन्। उनीहरुका अनुसार मृतक महतो अवैध रुपमा नदीजन्य पदार्थ उत्खननको विरोध गर्दै आएका थिए। त्यसै रिसमा उनको नियोजित हत्या भएको आरोप लगाउँदै स्थानीयहरु विरोध प्रदर्शनमा उत्रका छन्।
घटनाको विरोधमा मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार घटनाको प्रकृति हेर्दा पूर्ण रुपले नियोजित ढंगले किचेर हत्या भएको देखिएको बताए।