काठमाडौं, पुस २५। बहुमूल्य उपहार पार्सल गरी पठाइदिने आश्वासन दिएर ठगी गर्ने २ विदेशीसहित पाँच जना पक्राउ परेका छन्।
फेसबुक, हृवाट्सएप, इमो ट्विटरमार्फत नेपालीलाई ठगी गर्दै आएका पाँच जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जनाएको छ।
पक्राउ पर्नेमा ४० वर्षीय साइरिल चिनोन्सो इबे र २३ वर्षीय यासपे एडजी पियरेजियन छन्। मुख्य अभियुक्त साइरिल नाइजेरियन र पियरेजियन आइबोरिकोस्टको नागरिक भएको खुलेको छ।
त्यस्तै यही समूहसँग जोडिएर ठगीमा संलग्न चितवनका ४० वर्षीय रामचन्द्र गैह्रे, काठमाडौंका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवनकै ३१ वर्षीय हरि ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
उनीहरूले विदेशी नागरिकको नाममा फेसबुक, ट्विटर, इमोलगायतको एकाउन्ट खोलेर साथी बनाउँदै ठगी गर्दै आइरहेका थिए।