काठमाण्डौं, पुस २५ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ।
भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरे।
हाल नेपालमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थिर सरकार र स्थिर नीति रहेको भन्दै उनले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे। मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रका लगानीका लागि अपिलसमेत गरे। नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने उल्लेख गरे।
वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युतसँगै सौर्य ऊर्जाका लागि पनि उपयुक्त स्थान भएको स्पष्ट गरे। सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रूपमा काम गरिरहेको उनको भनाइ थियो। भेटमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय ऊर्जा प्रयोगका लागि सहयकार्यको प्रस्ताव राखे।
नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक ऊर्जा र संघबीच सहकार्य गर्न सकिने बताए। जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गरे। महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवर्द्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।