रौतहट, पुस २४। रौतहटमा छुट्टाछुट्टै स्थानमा ट्याक्टरको ठक्करबाट तीन जनाको ज्यान गएको छ। बिहीबार बेलुकी रौतहटको गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोक नजिकै ना ५ त ९२६७ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटना स्थलमै ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल पछाडी बसेका माधव नारायण नपा–६ माधोपुरका ४५ वर्षीय रामअधार ठाकुरको रहेको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक सोही ठाँउका २२ वर्षीय सुशील ठाकुरको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
गएराती नै बृन्दावन नपा–७ धमौरास्थित गौर चपुर सडकखण्डमा आलु बोकेर हर्षाहातर्फ गइरहेको ना ७ च ६१६९ नम्बरको ट्याक्टरले पैदलयात्रु ठक्कर दिदा एक जनाको ज्यान गएको छ। देवाही गोनाही नपा–४ की ३५ वर्षीया मिरादेवीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी गएरातीनै कटहरिया नपा–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा उखु बोकेको ना१त ४१४० नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकजना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ। ट्यक्टरचालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।