मकवानपुर, पुस २५ । अन्तत नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ। नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशन अनुसार नै निर्णय गरेको हो।
बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र वागमतीमा सहमति भएको बताए। ‘राजधानी हेटौंडा र नाममा वागमती सहमति भएको छ’ मुख्यमन्त्री पौडेलले भने।
यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो। उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए । नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन्।
उनले आफुहरुको फरकमत सम्पतिका रुपमा राख्ने भन्दै प्रस्तावमा सहमति जनाएको बताइन्। ‘अब सहज अवतरण भयो। यसले नेतृत्वलाई पनि पाठ सिकाएको छ’ शाक्यको भनाई छ।