फाइल फोटो
काठमाडौं, पुस २५ । चितवन, रामेछाप, रौतहट, ताप्लेजुङ, धनुषा र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।
रौतहट, कटहरिया नगरपालिका-९ डुमरियास्थित सडकमा बिहीबार बेलुका ना १ त ४१४० नम्बरको ट्याक्टरले किचेर हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी रौतहट, माधवनारायण नगरपालिका-३ स्थित सडकमा ना ५ त ९२६७ नम्बरको ट्याक्टरले ना ४८ प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई बिहीबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका ६ माधोपुरब बस्ने ४० वर्षीय राम अधार ठाकुरको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तराई हस्पिटल सुकदेवचोक हुँदै तराई हस्पिटल बीरगंजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २२ वर्षीय सुसिल ठाकुरको तराई हस्पिटल सुकदेवचोकमा उपचार भइरहेको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
चितवन, राप्ती नगरपालिका-६ हर्दीस्थित सडकमा ना ७ ख ४६६० नम्बरको ट्याङ्रले प्रदेश नम्बर ३-०२-००५ प ४३४७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा भिमसेन गाउँपालिका ४ बस्ने ३५ वर्षीय ईन्द्र तामाङ र मोटरसाइकलमा सवार सोही स्थान बस्ने २४ वर्षीय सुगम तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रामेछाप, दोरम्बा गाउँपालिका-३ टोकरपुरस्थित सडकमा बिहीबार दिउँसो बा.२ क ९००९ नम्बरको गाडीको ठक्करबाट सोही स्थान बस्ने अशोक कडेलकी ६ वर्षीया छोरी प्रतिमा कडेलको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।
ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ थापागाँउस्थित सडकमा मे १ च ६६०६ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जीपमा सवार सोही स्थान बस्ने ३५ वर्षीय पबित्रा थापाको घटनास्थलमै मृत्यु भएको छ।
धनुषा, मिथिला नगरपालिका-५ श्रीपुरस्थित औरही खोलाको बगरमा ना७ ख ६४१३ नम्बरको टिपरले बिहीबार दिउँसो सोही ठाउँ बस्ने २४ वर्षीय दिलिप कुमार महतो भन्ने ओमप्रकाश महतोलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। टिपर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।
मकवानपुर, भिमफेदी गाउँपालिका ९ अगोरस्थित हेटौंडा-भैसे-पालुङ सडकखण्डमा बा.१ य १२८३ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर शुक्रवार बिहान दुर्घटना हुँदा कारमा सवार भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २ जना भारतीय नागरिकको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।