धनुषा, पुस २५ । २ नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले प्रदेश सरकारका मन्त्रीहरु नयाँ गाडी किन्ने चक्करमा लागेका खुलासा गरेका छन्।
राज्यमन्त्री मण्डलले जनताको कुनै काम गर्न नसकेका प्रदेशका मन्त्रीहरुले सिन्कोसम्म भाच्न नसकेपनि एक बर्ष अघिमात्रै किनेका गाडी फेर्ने तयारीमा लागेका खुलासा गरेका हुन्। उनले शुक्रबार आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै ‘एक बर्ष अघिमात्र किनेका गाडी पुरानो पनि भएको छैन।
गाडीको कण्डिसन पनि बहुतै राम्रो छ। प्रदेश कामकाजका लागि काफी । वक्यौता रकम तिर्न बाँकी नै छ। तरपनि मन्त्री पदको दुरुपयोग गर्ने तथा महत्त्वपूर्ण जिम्मेवारीलाई सुख–सयल र मोजमस्तीका रुपमा लिने कतिपय मन्त्रीहरु गाडीको मोडल हेर्न ब्रोसर पल्टाउँदै शोरुम धाउँदै दिन बिताइरहेको’ भनेका छन्।
त्यस्तै उनले दोस्रो चौमासिक वित्न लाग्दा हालसम्म नयाँ योजना र कार्यक्रम समेत बनाउन नसकेका र गत आवका उपभोक्ताहरुको समस्या समाधान गर्नतिर लाग्नुपर्नेमा प्रदेश र जनताको पैसा फजुल खर्च गर्नतिर राज्यमन्त्रीलाई समेत छलेर भ्रष्ट ककर्मचारीहरुको मिलेमतोमा लाग्नु दुःखद रहेको बताएका छन्।
राज्यमन्त्री मण्डलले उक्त स्टाटस अपलोड गरेको १७ मिनेटपछि हटाएका छन्। मण्डल राजपाबाट मन्त्री बनेका हुन्
।