महोत्तरी, पुस २६ । महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख लुटपाट गरेका छन्। बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरुले रु पाँच लाख नगद र कागजातसहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
भङ्गाहा–६ र ७ का ७० बचतकर्ता र ऋणीबाट सङ्कलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीलाई मोटरसाइकल चढेर पिछा गरेकी ती दुई पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए। चौधरी को२८प ६९ नंको स्कुटर चढेको खुले पनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन सकेको छैन। “अहिलेसम्म पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने। घटना साँझ ५ बजे आसपासमा भएको बताइएको छ। रासस