मकवानपुर, पुस २६ । विवेकशील साझा पार्टीले प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउन प्रदेशसभामा प्रस्ताव गरेको छ।
विवेकशीलले पेश गरेको प्रदेशको राजधानी प्रस्तावमा प्रदेशका १३ जिल्लाका बासिन्दाहरुलाइृ पहुँचका हिसाबले काभ्रेको धुलिखेल नै पायक पर्ने उल्लेख छ। सांसद रमेश पौड्यालले पेश गरेको प्रस्तावमा शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेका छन्।
सत्ताधारी नेकपाले भने प्रदेशको नाम बाग्मती र स्थायी राजधानी मकवानपुरको हेटौंडा नै कायम गर्ने पक्षमा सहमति कायम गरिसकेको छ। नेपाली कांग्रेसले पनि हेटौंडालाई नै प्रदेश राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको छ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र विवेकशील साझाले भने प्रदेशको नाम बाग्मती बनाउने प्रस्तावमा सहमति जनाउँदै राजधानीबारे शनिबार आधिकारिक धारणा राख्ने बताएका थिए।
प्रदेश ३ को राजधानी र नामका विषयमा शुक्रबार साँझ हेटौँडामा सर्वदलीय बैठकमार्फत सहमति भईसकेको छ। बैठकबाट सकेसम्म एउटा मात्र स्थायी राजधानीको नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मती रहने विषयमा छलफल भएको थियो।
छलफलमा नेकपाका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, कांग्रेसका दलका नेता इन्द्र बानियाँ, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपा का रीता माझीले राजधानी हेटौँडा र नाम वाग्मतीमा सहमति जनाएका थिए।