चितवन, पुस २६ । भरतपुर बजार व्यवस्थापन समितिले चितवनमा ‘प्रथम भरतपुर सांस्कृतिक तथा कृषि, पर्यटन उद्योग व्यापार महोत्सव–२०७६’ गर्ने भएको छ। आगामी फागुन २ देखि १३ गतेसम्म महोत्सव आयोजना गर्न लागेको शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। जिल्लालाई कृषि, पर्यटन, व्यापार, उद्योगलगायतका क्षेत्रमा अगाडि बढाउनको लागि पहिलो पटक महोत्सव आयोजना गर्ने तयारी भएको समितिका अध्यक्ष घनश्याम पौडेलले जानकारी दिए।
मौलिक नेपाली गीतसंगीत क्षेत्रको लागि पनि ‘कुम्भ मेला’को रूपमा आयोजना गर्न लागेको उनले बताए। खुला दोहोरी गीत प्रतियोगिता, स्थानीय जाती तथा समुदायमा आधारित गीत–संगीत, नृत्य तथा झाँकी प्रदर्शन, थारुनाच, घाँटु, चुड्का, रोइला आदि गीत–संगीतलाई विशेष महत्त्व दिइएको आयोजकले जनाएको छ। उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकासँगको समन्वयमा हरेक दुई–दुई वर्षमा महोत्सव आयोजना गर्ने सहमति भएको अध्यक्ष पौडेलले बताए।
भरतपुरमै पनि विगत केही वर्षदेखि मरतपुर मेला हुँदै आएको छ। उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उद्योग वाणिज्य संघले पनि हरेक दुई वर्षमा महोत्सव आयोजना गर्दै आइरहेको छ। यसपटक पुस २५ गतेदेखि नै रत्ननगर महोत्सव चलिरहेको छ भने अर्को वर्ष चितवन महोत्सव हुनेछ। खिचरा महोत्सव पनि चितवनका विभिन्न स्थानमा हरेक वर्ष हुँदै आएको छ। भरतपुर बजार व्यवस्थापन समितिले पनि महोत्सव गर्ने भएपछि यो चितवनको नयाँ थपिएको महोत्सवभित्र पर्छ।