काठमाण्डौं, पुस २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादमा पुर्याउनका लागि कम्युनिष्ट एकता आवश्यक भएको बताएका छन्।
शनिवार पार्टी मुख्यालय धुम्बारहीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कम्युनिष्ट एकता भएपछि मात्रै मुलुकमा समृद्धि आउने बताएका हुन्। कम्युनिष्टहरू २०१९ को तेस्रो महाधिवेशन पछिमात्रै विभाजित हुन पुगेको बताए।
‘पहिले विविध कारणले साथीहरू छुटेर जानुभयो, अब विस्तारै एकीकृत हुने क्रममा रहेको छ’ उनले भने, ‘देशलाई समाजवाद लग्न कम्युनिष्ट एकता आवश्यक हुन्छ। त्यो विस्तारै पूरा हुँदैछ।’ कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय आन्दोलन भएकोले कम्युनिष्ट आन्दोलनपछि मात्रै देश समृद्धि भएको इतिहास भएको दाबी गरे।
‘रुस, चिन र पेरुमा पनि कम्युनिष्ट आन्दोलन भएका थिए। अहिले कम्युनिष्ट एकतापछि यी देशहरुमा समृद्धि छाएको छ’ उनले भने, त्यसैले नेकपामा पनि दुई ठूला धारमा कम्युनिष्ट एक भएपछि समृद्धिको बाटोमा गइरहेको छ। त्यसलाई पुरा गर्न छुटेर गएका कम्युनिष्टहरु पनि आउन आवश्यक छ।’ ‘हामी अहिले पनि यहि प्रक्रियामा छौँ। तत्कालीन एमाले र माओवादी पार्टी एकताले फेरि नयाँ रुपमा दिएको छ। नेपालको राजनीतिक स्थायित्व र जनताको विकाससँग जोडिएको छ’ उनले भने, ‘राजनीतिक एकता, स्थिर सरकार र विकासमा लागेका छौँ । अहिले पार्टी एकताले समृद्ध नेपाल निर्माणमा लागेको छ।’ जनयुद्ध र शान्तिप्रक्रियापछि विभाजित भएकाहरूलाई पुनः पार्टीका आउन आग्रहसमेत गरे। ‘
भोलिका दिनमा नेत्रविक्रम चन्द विप्लव पनि आउनुहुन्छ भन्ने लाग्छ। अहिले जो चुलो चौको राखेर बसेको छन् पछि जोडिन अवश्य आउँछन्’ उनले भने। देशको स्थिति र राजनीतिक स्थायित्वका लागि उनीहरू एकै ठाउँमा आउन अपिल गरेका छन्।
लामो कसरतपछि घोषणा भएको नेपालको संविधान ऐतिहासिक सफलता र क्रान्तिकरी भएको जिकिर गरे।