पुस २६ । एप्पलले अब सस्तो खालको आइफोन पनि सार्वजनिक गर्ने भएको छ। एप्पलले सन् २०१६ मा नै आइफोन एस इ रिलिज गरेको थियो जुन आइफोन नै एप्पलको सबैभन्दा सस्तो र बजेट आइफोन रहेको थियो।
उक्त आइफोन एस इ रिलिज भएको लगभग ४ वर्ष पछि एप्पलले आइफोन एस इ दुई रिलिज गर्ने भनिएको छ। बजेट आइफोनको फिचरहरु लिक भएको छ। जस अनुसार बजेट आइफोनमा ४.७ इन्चको नच नभएको डिस्प्ले हुनेछ र उक्त आइफोनको डिजाइन आइफोन ६ वा आइफोन ७ सँग मिल्दो हुनेछ।
आइफोन एस इ को तुलनामा यस आइफोन मोटो हुने र निकै ठूलो हुने अनुमान गरिएको छ। यस आइफोनको पछाडीको भाग सिसाले बनेको हुनेछ। यसर्थ, बजेट आइफोनमा पनि वायरलेस चार्जिंग प्रविधि हुनसक्ने सम्भावना रहेको छ।
अगाडी पुरानो आइफोनहरूमा जस्तै होम बटन हुनेछ र उक्त होम बटनमा फिंगरप्रिन्ट स्क्यानर पनि हुनेछ। नयाँ आइफोनहरूमा होम बटन हटाइएको छ र फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गराइएको छैन – फिंगरप्रिन्ट स्क्यानरको सट्टामा अनुहार स्क्यान गर्न मिल्ने प्रविधि राखिएको छ। अनुहार स्क्यान गरेर आइफोन अनलक गर्न मिल्ने प्रविधि अर्थात् फेस आइडी भने बजेट आइफोनमा उपलब्ध हुने छैन।
उक्त स्रोत कै अनुसार यस नयाँ बजेट आइफोनमा ३ जीबी र्याम र नया ए १३ बायोनिक प्रोसेसर हुनेछ। यो प्रोसेसर नयाँ महंगा आइफोनहरूमा प्रयोग भएको प्रोसेसर हो। यो कुरा सत्य भएको खण्डमा बजेट आइफोन पनि महंगा फ्ल्याग्शिप आइफोनहरू जतिकै फास्ट हुनेछ।
यसै गरेर बजेट आइफोन ६४ जीबी वा १२८ जीबी स्टोरेजमा उपलब्ध हुने पनि उल्लेख गरिएको छ। ६४ जीबी स्टोरेज भएको बजेट आइफोनको मूल्य ३९९ अमेरिकी डलर हुने दाबी पनि उक्त स्रोतले गरेको छ। एजेन्सी