वीरगञ्ज, पुस २६ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवनाथ राउत कुर्मीको शनिबार निधन भएको छ। विगत एक वषदेखि अस्वस्थ रहेका वडाध्यक्ष कुर्मीको ६२ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।
उनी २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष कुर्मीको निधनले आफूसहित गाउँपालिकालाई मर्माहित बनाएको गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष पवन तिवारीले बताए।
कुर्मीको आफ्नै गाउँ तिनडोबियामा अन्तिम संस्कार गरिने उनका दाइ सिकारी राउत कुर्मीले जानकारी दिए। कुर्मीको निधन भएपछि गाउँपालिकाले सूचना जारी गर्दै एक दिने सार्वजनिक बिदा दिएको छ।
पुस २७ गते आइतबार गाउँपालिकामा बिदा दिइएको र उक्त दिन दिवगत वडाध्यक्ष कुर्मीको अन्त्येष्ठिमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई सामेल हुन आग्रह समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले जानकारी दिए।