चितवन, पुस २६ । माघ ११ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने विराट मासिक ज्ञान महायज्ञको लागि शनिबार जिम्मेवारी बाँडफाँड भएको छ। महायज्ञलाई सभ्य र भव्य बनाउन शनिबार दुई हजार एक सय सदस्यीय मूल आयोजक समारोह समिति विस्तार गरिएको हो। लालबहादुर दवाडीको संयोजकत्वमा गठित मूल आयोजक समारोह समितिको महासचिव एवम् प्रवक्ताको रुपमा दिलीप न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
कार्यम्पादन सहजताका लागि ११ सदस्यीय सचिवालय समिति समेत निर्माण गरिएको छ। सचिवलायको संयोजकमा लालबहादुर दवाडी, महासचिवमा दिलीप न्यौपाने, सदस्यहरुमा मनोज पुडासैनी, रामबहादुर कुँवर, कृष्णश्याम गिरी, चेतनाथ वाग्ले, तुलाराम विक र रामहरि दवाडी रहेका छन् भने तीन सदस्य पछि थपिने जनाइएको छ। त्यस्तै महायज्ञको सल्लाहकार संयोजकमा नारायणप्रसाद आचार्य रहेका छन्।
सो महायज्ञमा ४५ वटा उपसमिति, ३३ जनाको कार्य सम्पादन समिति, १०८ जनाको पूर्ण कमिटी निर्माण गरिएको महायज्ञका प्रवक्ता न्यौपानेले जानकारी दिए। एक महिनासम्म नारायणी नदी किनारमा हुने महायज्ञमा दिउँसो र राति ३०/३० जना प्रमुख अतिथि राखिनेछ। दिउँसो र राति पाँच÷पाँचजना विशिष्ट अतिथि राख्ने तयारी भइरहेको समितिले जनाएको छ।
१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६ को तयारीका काम तीव्र गतिमा भइरहेको महायज्ञका प्रमुख वाचक युवा पण्डित बालयोगेश्वर महाराजश्रीले बताए। १०८ कुण्डीय कोटिहोम स्थलमा नौ तले यज्ञ मण्डप निर्माणको काम भइरहेको उल्लेख गर्दै महाराजश्रीले मण्डपस्थल छाउने काम भइरहेको जानकारी दिए।
एकैसाथ तीन हजारभन्दा बढी भक्तजनले कथा श्रवण गर्न सक्नेगरि तीन कठ्ठा जमिनमा मण्डप निर्माण भइरहेको महाराजश्रीले बताए। चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो।
नेपाल भ्रमण वर्ष–२०२० को आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सव आयोजन गर्न लागेको हो। महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको छ भने पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।