चितवन, पुस २७ । सातौं खिचरा महोत्सव–२०७६ आज (आईतवार) देखि सुरु हुँदैछ। “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” भन्ने नारासहित पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने महोत्सव सुरु हुन लागेको हो।
महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणी चौधरीले जानकारी दिएका छन्। महोत्सवको एक औपचारिक समारोहकाबीच पूर्व उपप्रधानमन्त्री एवंम नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसअघि पर्साबजारको मगनी चोकबाट झाँकी सहितको शोभा र्र्यालीले पर्सा बजार परिक्रमा गरी गौचरनमा पुग्ने प्रचारप्रसार समितिका संयोजक राजु चौधरीले जानकारी दिए। यसवर्ष १५० वटा स्टल रहेको जनाइएको छ।
महोत्सवमा थारूका पहिचान झल्कने भेष भुषा सहित विभिन्न संस्कृतिक पहिचान एवम् परम्परागत सामाग्रीहरु प्रदर्शन गरिने छ। महोत्सवमा थारु समुदायको ब्रहमथान, परेवाको घर, परम्परागत सामाग्रीहरु सहितको थारु मिनीगाउँ परिसर, घोङी र पोकाको शिलामुर्ती प्रदशर्नी स्थलमा रहने छ।
घोङी र पोकाको बिशालमुर्ती सबैको आकर्षणको केन्द्र बन्नेछ। साथै महोत्सव परिसरमा प्रतियोगितात्मक कृर्षि उपज प्रदर्शनी, अन्तर विद्यालय स्तरीय चित्रकला तथा हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुष भेट्रान (प्रौढ) दौड, स्लो साईकल रेस, खिचरा फोटो सेल्फी फोटो कन्टेस्ट, फेस पेन्ट रहनेछ।
महोत्सव परिसरमा थारु समुदायहरुले आफैले बनाई प्रयोग गर्दै आएका परम्परागत तथा लोपोन्मुख सामग्रीहरुको प्रदर्शनी परिसर राखिएको छ। होटल परिसरमा थारु समुदायका विभिन्न अवसरमा खाइने परिकारहरु जस्तैः चिचर, चिचरको पोका, घोङी, हाँसको मासु, माछा, झिंगे माछा, सितुहा, नकगर रोटी लगायत आधुनिक खाजा पसलहरु रहेका छन्।
महोत्सव आयोजना गर्न करिव रु ३६ लाख रूपैयाँ खर्च लाग्ने र रु ३८ लाख आम्दानी हुने आर्थिक समितिका संयोजक भिखुराम चौधरीले जानकारी दिए। महोत्सव अवलोकनको लागि १ लाख सम्म दर्शकहरु भित्राउने लक्ष्य रहेको उनले बताए।
महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको साँस्कृतिक कार्यक्रमलाई जोड दिईएको साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए। राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै मिस नेपालद्धारा थारु भेष भुषा सहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारुको फेसन शो र खुल्ला नृत्य प्रतियोगिता राखिएको उनले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि रु ५० रूपैयाँ टिकट शुल्क लाग्ने छ भने विद्यार्थीहरुका लागि (परिचयपत्रका आधारमा) रु ३० कायम गरिएको जनाइएको छ। थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले महोत्सव आयोजना गरेको हो।




