काठमाण्डौं, पुस २७ । संघीय संसदको बैठक आइतबार दिउँसोका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ।
सभामुख नरहेको र सभापमुखको उम्मेदवार सत्तारुढ नेकपाले तय नगरेको अवस्थामा आइतबारको बैठक पनि यसअघिको जस्तै स्थगित हुन सक्ने सम्भावना छ। तर उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफैले बैठक सञ्चालन गर्ने बताएकी छन्।
नेकपाले शनिबार उनलाई उपसभामुखबाट राजीनामा दिन निर्देशन दिएको थियो। तर तुम्बाहाम्फेले राजीनामा नदिने र बैठक आफैले सञ्चालन गर्ने बताएकी हुन्। तुम्बाहाम्फेले बैठक आफैले सञ्चालन गर्ने बताए पनि नेकपाले भने उनलाई राजीनामा दिनका लागि लिखित निर्देशन दिन सक्ने सम्भावना रहेको जनाइएको छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको अभियोग लागेपछि गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए। त्यसयता पद खाली रहेको छ।