पुस २७, दुबई। युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ।अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल जलमग्न भएपछि उडान प्रभावित भएको छ। उडान प्रभावित भएपछि यात्रुहरु अलपत्र परेका छन्।
दुबईको यो विमानस्थल विश्वकै व्यस्त विमानस्थलहरुमध्ये एक हो। शनिबार भारी वर्षाका कारण जलमग्न भएपछि कयौं उडान रद्द भए। अधिकांश उडान पूर्वतालिकाअनुसार भएनन्। कतिपय विमानहरु डाइभर्ट भए । समाचार एजेन्सी रोयटर्सका अनुसार हवाई उडानहरु १४ घण्टासम्म डिले भए।
सामाजिक सन्जालमा भाइरल भएको एक भिडियोमा मकतुम विमानस्थलको रनवे पानीमा डुबेको देखिन्छ।
प्रशासनका तर्फबाट एडभाइजरी जारी गरेर भारी वर्षाले उडान प्रभावित भए पनि यात्रुका लागि वैकल्पिक उपाय अपनाउन लागिएको जनाइएको छ।