काठमाण्डौं, पुस २७ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई आधुनिकतामा रूपान्तरण गर्ने अभियान कांग्रेसले सुरु गरेको र यो जारी रहेको बताएका छन्।
पृथ्वीनारायण शाहको जन्मजयन्ती अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले आधुनिक नेपाल बनाउने अभियानमा केही चुनौती देखिए पनि त्यसलाई चिरेर अघि बढ्ने बताए।
फरक प्रसंगमा महतले कूटनैतिक हिसाबले सरकार असफल साबित भएको दाबी गरे। उनले सीमा अतिक्रमणतिर संकेत गर्दै भने, ‘यो सरकार जहाँ संवाद गर्नुपर्ने हो, त्यहाँ मौन बस्ने गरेको छ र जहाँ मौन बस्दा पनि हुन्छ, त्यहाँ बोल्ने गरेको छ।’
नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार संविधानको उल्लंघन गर्न उद्यत रहेको आरोप उनले लगाए। संविधान मिच्दै स्वतन्त्रता खोस्ने काम गरिरहे नेपाली कांग्रेस र नेपाली जनताले त्यसको प्रतिकार गर्ने उनको चेतावनी छ।