पुष २७ । सुदूरपश्चिम प्रदेश सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
इनरुवामा रंगशालामा आइतबार गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम चारमा पुगेको हो।
गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।
सुदूरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए। खड्क बोहरा १६ रनमा अविजित रहदा अरुण ऐरीले अविजित १० रन बनाए।
गण्डकीका दिपेश खत्रीले १ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो।
गण्डकीका लागि किशोर महतोले सर्वाधिक १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
सुदूरपश्चिमका विनोद लामाले एक्लैले ७ विकेट लिए। शेर मल्लले दुई विकेट लिए।
जितसँगै समूह ‘डी’ को सुदूरपश्चिमले २ खेलमा २ जितसहित ४ अंक जोड्यो। र, समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ।
यस समूहबाट गण्डकी र मलेसिया-११ भने बाहिरिएको छ। पहिलो खेलमा सुदूरपश्चिमले मलेसिया-११ लाई ८ विकेटले हराएको थियो।
अब यस समूहको अन्तिम खेलमा सोमबार गण्डकी र मलेसियाबीच खेल हुनेछ।
सुदूरपश्चिम सेमिफाइनलमा पुगेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ।
अब सेमिफाइनलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबसँग खेल्नेछ। यस्तै अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र प्रदेश ३ बीच खेल हुनेछ।




