चितवन, पुस २७ । नेपालभरिका विश्वकर्माको साङ्गठानिक राष्ट्रिय भेला १७ बुँदे घोषणापत्र जारी गर्दै आज गैँडाकोटमा सम्पन्न भएको छ। भेलाले महासङ्घ निर्माण गर्न सातै प्रदेशबाट सातजना र थप एक महिलासहित २१ जनाको केन्द्रीय सचिवालय गठन गरेको छ। उक्त सचिवालयले आगामी एक वर्षभित्र नयाँ विधान निर्माण गरी राष्ट्रिय सम्मेलन गर्ने घोषणापत्रमा उल्लेख छ। उक्त सम्मेलनले केन्द्रीय महासङ्घ गठन गर्नेछ।
सो भेलाले एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्मा र विश्वकर्मा समाज नेपाल केन्द्रीय समिति कास्कीका अध्यक्ष गणेश बराइलीलाई तयारी समितिको संयोजक तथा विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपीन रामुदामु, विश्वकर्मा एकता समाज, इटहरीका अध्यक्ष गोपाल लकान्द्री र विश्वकर्मा कल्याण समाज पोखराका महासचिव दीपक घिमिरेलाई सहसंयोजक चयन गरेको छ।
घोषणापत्रमा आगामी दिनमा विश्वकर्माहरुको पहिचान, कला संस्कृतिको संरक्षण तथा समानुपातिक समावेशी अधिकार र समृद्धिका लागि लागि पर्ने जनाइएको छ। साथै आगामी दिनमा दलित समुदायको विभिन्न जातजातिलाई समेत संयोजन गरी दलित अधिकारका लागि वृहत राष्ट्रिय महासङ्घ निर्माण गर्ने जनाएको छ । रासस