काठमाण्डौं, पुस २७ ।मादक पदार्थ सेवन (मापसे) गरी टिप्पर चलाउने एकजना चालक पक्राउ परेका छन्।
मापसे गरी टिप्पर चलाएको देखिएपछि कारबाही गर्ने क्रममा प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने टिप्पर चालक प्रेमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार घर्तीले शनिबार साँझ मदिरा सेवन गरी ना ८ ख ४३३७ नम्बरको टिप्पर चलाएका थिए। भक्तपुरको सूर्यविनायक–९ नलिनचोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच पछि कारबाही गर्न खोज्दा उनले १ हजार रुपैयाँ घुस दिन खोजेका थिए।
प्रहरीले टिप्पर चालक घर्तीले घुस दिन खोजेको १ हजार रुपैयाँसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
भक्तपुरमै मदिरा सेवन गरी मोटरसाइकल चलाउने अर्का चालक पनि पक्राउ परेका छन्। मदिरा सेवन गरी बा ३७ प १२०६ नम्बरको मोटरसाइकल चलाइरहेका भारत घर भइ भक्तपुरको बोडे बस्ने २६ वर्षीय मोहम्मद दिल्दारमियालाई प्रहरीले पक्राउ गरेको हो।
सवारी चेकिङका क्रममा प्रहरीले कारबाही गर्न खोजेपछि हिल्दारमियाले १ हजार रुपैयाँ घुस दिन खोजेका थिए।