पुस २७ ।युक्रेनी यात्रुवाहक विमानलाई भुलवश मिसाइल आक्रमणबाट खसालिएको इरान सरकारले स्वीकार गरेपछि तेहरानमा भएको सरकारको विरोधी प्रदर्शनमा ब्रिटिशका राजदूत नै पक्राउ परेका छन्।
राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई ब्रिटेनले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको जनाएको बिबिसीले उल्लेख गरेको छ। विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको जनाइएको छ। पछि उक्त कार्यक्रम सरकारविरोधी प्रदर्शनमा परिणत भएको थियो।
त्यहाँबाट दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए। इरानी सञ्चारमाध्यमका अनुसार मकेयरमाथि सरकारविरोधी प्रदर्शनकारीहरूलाई भड्काएको आरोप लगाइएको छ।
शनिबार इरानी अधिकारीहरूले युक्रेनी यात्रुवाहक विमानमा मानवीय त्रुटिका कारण क्षेप्यास्त्र प्रहार गरिँदा विमान खसेको बताएका थिए।त्यसपछि मृतकको सम्झनामा तेहरान र अन्य शहरहरूमा शनिबार मानिसहरू भेला भएका थिए।
यसअघि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इरानी स्वीकारोक्ति पहिलो महत्त्वपूर्ण कदम भएको भन्दै उक्त दुःखद घटनाबारे अनुसन्धान गर्न आग्रह गरेका थिए।