चितवन, पुस २७। नारायणगढ–बुटवल सडक विस्तारका लागि थालिएको रुख काट्ने काम स्थानीय समुदायको अवरोधका रोकिएको छ। सडक विस्तार आयोजनाका अनुसार सामुदायिक वन उपभोक्ता समूहले सडक छेउमा काटिएका रुखहरु आफूले पाउनुपर्ने दाबी गरेको छ।
सडक विस्तारका लागि यो खण्डमा ४६ हजार २९४ रुख काट्नुपर्ने जानकारी आयोजनाका सूचना अधिकारी शिव खनालले दिए। उनका अनुसार, वन डिजिभन कार्यालय नवलपुरले गत पुस ८ गते कटानको पूर्जी दिएपछि धमाधम रुख काट्न थालिएको थियो।
कावासोती नगरपालिका–२ को शिव सामुदायिक वन उपभोक्ता समितिले काटिएका रुख सरकारको नभई आफ्नो हुने भन्दै काममा अवरोध गरेको खनालले बताए। नजिकै महाराजा सामुदायिक वन क्षेत्रको रुख काटेर शिव सामुदायिक बनमा प्रवेश गरेपछि बिरोध भएको उनले बताए।
उता डिभिजन वन कार्यालय नवलपुरले सरकारी सडक छेउको रुख समुदायलाई दिन नसकिने जनाएको छ। सडक विभागले स्थानीय प्रशासनको सहयोगमा काम सुरु गर्नसक्ने बन कार्यालयको भनाइ छ।