काठमाण्डौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय एकता दिवस मनाउँनसमेत कन्जुस्याइँ गरेको बताएका छन्। एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले सरकारले पृथ्यीजयन्तीको दिनको समेत बिदा कटौती गरेर भूल गरेको बताएका हुन्।
‘राष्ट्रय एकता दिवस मनाउँनको लागि सरकारी तवरबाट विभिन्न कार्यक्रम भएका छन्। तर, सरकारले सार्वजनिक बिदा कटौती गर्यो’ उनले भने, ‘त्यसैले नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार र विशेषत प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस विषयमा ध्यान दिन आवश्यक छ।’
राष्ट्रिय एकीकरण एउटा राजनीतिक दल र व्यवस्थासँग मात्रै सम्बन्धित नभएको उनले प्रष्टाए। ‘यो राष्ट्र निर्माणसँग सम्बन्धित हो। पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसलाई पार्टीभन्दा माथि उठेर हेर्नपर्छ’ उनले भने।
‘सद्भाव र एकता बढाउने पर्वका रूपमा मनाउनुपर्छ’ उनले भने, ‘राष्ट्र निर्माताको योगदानबारे विगतमा केही भ्रम थिए। केही नकारात्मक सोच थिए। अहिले प्रायः सबै राजनीतिक दल र नेताहरूले पृथ्वीनारायण शाहको योगदानलाई सकारात्मकरूपमा लिनु भएको छ।
सरकारले पनि राष्ट्रिय एकता दिवासलाई राष्ट्रिय दिवसका रूपमा मनाउन र पृथ्वीनारायणको तस्बिरलाई नोटमा अंकित गर्नुपर्ने धारणा व्यक्त गरे। सरकारी स्तरबाट राष्ट्रिय पर्वकारूपमा नमनाइए पनि जनस्तरमा भव्यरूपमा मनाइँदै आएको उनको बताए। आगामी वर्षदेखि यसलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिने विश्वास रहेको उनले उल्लेख गरे।
देशका सबै प्रकारका चुनौतीलाई सामना गरेर शान्त, स्थिर र समृद्ध मुलुक बनाउन सबै दललाई सहमतिमा आउनका लागि प्रेरणा प्रदान यस्तो पर्वले महत्व दिने बताए। २०६२ पछि पृथ्वीनारायण शाहको नाममा विवाद भए पनि एउटा संसदीय पार्टीको कार्यक्रममा चियापानमा आउनु महत्वपूर्ण भएको बताए।