काठमाण्डौं, पुस २७ । साताको पहिलो दिन शेयर बजारमा उकालो लागेको छ। बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से परिसूचक एकैदिन ४२ दशमलव ६१ अंकले बढेर बजार बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा ३ दशमलव ५१ प्रतिशतले बढेर १२५५ दशमलव ७२ अंकमा पुगेको छ। जुन गत चारमहिना यताकै उच्चतम विन्दु हो। त्यस्तै, परिसूचकसँगै शेयर कारोबारमा पनि उच्च वृद्धि भएको छ।
आइतबार मात्रै एक अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। बजारमा कूल १७९ कम्पनीको ३८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
कारोबारमा आएका मध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर किनबेच भएको छ। कम्पनीको एकैदिन ५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँ भन्दा बढीको शेयर बिक्री भएका छन्। बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै आइतबारको बजारमा उछाल आएको हो।
सो दिन जीवन बीमा र निर्जीवन बीमा समूह त्रिपल डिजिट अर्थात उच्च अंकले बढेका छन्। सबैभन्दा बढी जीवन बीमा समूह ४०९ दशमलव २७ र निर्जीवन बीमा समूह ३८४ दशमलव २१ अंकले उकालो लागेका छन्।
बजारमा कारोबारमा आएका सबै सूचक हरिया देखिएका छन्। जसमध्ये म्युचअल फण्ड समूह सामान्य अंकले बढेको छ भने बाँकी समूह दोहोरो अंकले उकालो लागेका छन्।