काठमाण्डौं, पुस २८ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आफ्नै शिष्यबाट रकम असुल्ने एकजना योगगुरु पक्राउ परेका छन्। प्रहरीले काठमाडौँका गैरीधारामा बसेर विभिन्न स्थानमा योग शिविर चलाउने स्वामी शिव आनन्दका नामले परिचित गुल्मीका दीपक भण्डारीलाई पक्राउ गरेको हो।
उनले विदेशमा आकर्षक जागिर लगाइदिने प्रलोभनमा आफूसँग योग सिक्न आउने तीनजनाबाट १७ लाख रकम उठाएको आरोप छ। पीडितको उजुरीको आधारमा भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भण्डारीले शिष्यहरुबाट रकम उठाएको स्वीकार गरेका छन्। तर उक्त रकम समर कन्सल्टेन्सीका सञ्चालक समरदत्तलाई दिएको उनको भनाई छ। समर अहिले फरार छन्।