जनकपुर, पुस २८ । प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ। अब अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश २ को बैठक लामो समयदेखि बस्न सकेको छैन। पुसको १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्ध गरेका थिए।
गत आर्थिक वर्षमा सन्चाति योजनाहरुको भुक्तानी दिनुपर्ने माग गर्दै दुई दिन संसद अवरुद्ध गरिएपछि १७ गतेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको थियो। त्यसपछि २४ गते बस्ने भनिएकोमा उक्त दिन पनि स्थगित गर्दै २८ गते सोमबारका लागि निर्धारण गरिएको थियो।
तर सोमबार पनि बैठक बस्न सकेन र, अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले जारी गरेको छ।