काठमाण्डौं, माघ १ । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ मूल नाराको साथ सरकारले पाँचौँ राष्ट्रिय योग दिवस साताव्यापी रूपमा मनाउने भएको छ।
माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जानकारी दिएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहित ७७ वटै जिल्ला तथा आयुर्वेद सम्बद्ध सबै संस्थाहरूमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइदै छ।
स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ। पछिल्लो समय अस्वस्थकर जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव चुलिँदो छ। पूर्वीय दर्शनद्वारा व्यवस्थित तथा ऋषि–महर्षिहरूद्वारा सिद्ध योगको बहुआयामिक महत्वबोध गर्दै पछिल्लो समय विश्वभरि नै योग दिवस मनाउने गरिएको छ।
अव्यवस्थित खानपान, बिलासी जीवनशैलीका कारण धेरै जसो मानिसहरु नसर्ने रोगको शिकार भएका छन्। नसर्ने किसिमका रोगमा पनि मानसिक समस्या, मोटोपनसम्बन्धी समस्याले आधा हिस्सा ओगट्ने गरेको छ।
यस्ता समस्यादेखि रोकथाम गर्ने मानिसकले शारीरिक व्यायाम अपरिहार्य रहेको योगा प्रशिक्षकहरु बताउँछन्। योगाका माध्यमबाट नसर्ने रोगबाट बच्न सकिन्छ। दैनिक पसिना आउने गरी शारीरिक अभ्यास गरेमा नसर्ने रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ।