काठमाण्डौ, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन्।
मकर सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेकी छन्।
माघीपर्वका अवसरमा उनले दिएको सन्देशमा भनिएको छ, “हाम्रा पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पु¥याएको मैले विश्वास लिएको छु।”
माघी पर्वलाई थारु समुदायबाट नयाँ वर्षका रूपमा समेत धूमधामसँग मनाउने गरिन्छ। यो पर्व स्नान, दान, पूजार्चना, मनोरञ्जनका साथै मिष्ठान भोजन गर्दै मनाउने प्रचलन छ।