काठमाण्डौं, माघ १ । माघे संक्रातिकै दिन पारेर वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेका छन्। सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन्।
वाणिज्य बैंकहरु पछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ। आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए।
यो सिस्टम राखे पछि बैंकिङ केहि झण्झटिलो हुनेछ। अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ।
यतिमात्रै होइन नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ। तिन पुस्ते भर्नु पर्नेदेखि लिएर सक्कल परिचय पत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्था भन्दा यो विधि केहि झण्झटिलो हुनेछ।
गोएमएल भनेको एउटा सफ्टवेयरको नाम हो। सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रयोग बढिरहेका जानकारहरु बताउछन्। विश्वका धेरै देशका बैंक तथा वित्तीय संस्थाहरुले यस सफ्टवेयरको प्रयोग गरिरहेका छन्।