माघ १ । पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले जानकारी दिएका छन्।
उनीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ। प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन्।
देशको निलम उपत्यकामा सवै भन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन्।
हराईरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए। उनले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताए।
काश्मिरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाई छ। वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन्। कैयौँ मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ।