विराटनगर, माघ २ । सुनसरीको वराहक्षेत्र नगरपालिका– १ सप्तकोशी नदी नजिकै एक जना महिलाको शव भेटिएको छ। स्थानीय दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटिएको हो।
मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना स्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको जनाएको छ।
सडेको अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिए। उनका अनुसार शवको पहिचान हुन सकेको छैन।
पहिचानका लागि अनुसन्धान गरिरहेको प्रहरीले लेनदेनको विवादमा महिलाको हत्या भएको हुनसक्ने बताएको छ। विभत्स अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड र महिलाको हातको बुढी औंलामा रङ लागेको अवस्थामा भेटिएको थियो।
अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने महिलाको अनुहार नचिनिने अवस्थामा छ ।