काठमाण्डौं, माघ १ । विश्व बैंकले थप ८६ हजार घरको पुनर्निर्माण गर्न ऋण सहयोग दिने भएको छ। विश्व बैंकबाट नेपाललाई दिने २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत भएको जनाएको छ।
विश्व बैंकले भूकम्पले भत्काएका घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरेको जानकारी दिएको छ। विश्व बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) संचालन गरिरहेको छ।
परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गर्न लागेको हो। सन् २०१५ को भूकम्पबाट प्रभावित निजी आवासतर्फ थप ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि यो अनुदान उपलब्ध गराउने गरी विश्व बैंकले यो रकम उपलब्ध गराएको हो।
भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुनेछ। विश्व बैंकले यसअघि सन् २०१५ मा ५५ हजार घरको पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो।