मेघौली, १ माघ। भरतपुर महानगरपालिका २७ मेघौलीमा मगर सांस्कृतिक संग्रहालय शुभारम्भ भएको छ। पूर्वमन्त्री विक्रम पाण्डेद्वारा उद्घाटन गरिएको यो संग्रहालय नेपाल मगर प्रारम्भिक समिति मेघौली, शुक्रनगर र जगतपुरद्वारा निर्माण गरिएको हो। माघी पर्वको अवसर पारेर उद्घाटन गरिएको यस संग्रहालयको लागि बजेट पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री पाण्डेले बागमती प्रदेशकी सांसद रीना गुरुङलाई धन्यबाद दिए।

उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उपाध्यक्ष पाण्डेले आफू सदैव जनताको साथमा हुने र विकासका लागि सदैव प्रयत्नशील रहेको बताए। सोही कार्यक्रममा पाण्डेले संग्रहालयको लागि एकलाख एक हजार रुपैयाँ सहयोगको घोषणा समेत गरेका छन्।
संग्रहालयबाट आदिवासी जनजातिले आफ्नै ईतिहासबारे बुझ्न सक्ने बताउँदै पाण्डेले भाषा, कला र संस्कृतिको संरक्षणमा संग्रहालय उपयोग गर्न पनि आग्रह गरे।
सोही कार्यक्रममा वागमती प्रदेश सांसद रीना गुरुङले जनजाति समुदायलाई दिइँदै आएको सार्वजिनक बिदा सरकारले कटौती गरेकोप्रति असन्तुष्टि ब्यक्त गरिन्। गुरुङले नेपाल विभिन्न जातजाती, भाषाभाषी मिलेर बनेको मुलुक भएको भन्दै सौहार्दपूर्ण वातावरण कायम राख्ने काममा सहयोग गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष दिपम थापामगरले संग्रहालयले मगरहरूको संस्कति झल्काउने बताए। साथै उनले भवन निर्माणका लागि सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे। समितिका उपाध्यक्ष विरबहादुर पुनमगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा चन्दादाताहरूलाई सम्मान गरिएको थियो।

समितिका अध्यक्ष मगरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा नम्बर २७ का प्रतिनिधि सन्तबहादुर महतो, वडा २५ का अध्यक्ष बिजयकुमार आले, वडा नम्बर २८ का आसबहादुर कुमाल, मेघौली उपभोक्ता समितिका अध्यक्ष मायरा चौधरी, मेघौली खानेपानीका अध्यक्ष शिवप्रसाद भुर्तेल, सल्लाहकार खुमबहादुर रानामगर लगायतको सहभागीता रहेको थियो।
संग्रहालयको लागि देउमाया थापामगरले भूमिदान गरेकी थिइन्। संग्रहालयमा मगर जातीको सस्कृति झल्कने खालका सामान राखिएकाे छ।