सर्लाही, माघ २ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्देशनबाट दायाँबायाँ नहुन नेकपाका सांसद र स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई निर्देशन दिएका छन्।
यही माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एक भोट पनि तलमाथि नहुने गरी मतदान गर्न नेता नेपालले सुझाएका हुन्। बुधवार सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्ध पीडित बाल गृहमा जनवादी गायक जेबी टुहुरेको एकल साङगीतिक प्रस्तुति समारोहलाई सम्वोधन गर्दै नेता नेपालले पार्टीका जनप्रतिनिधिलाई मतको अधिकार प्रयोग गर्न निर्देशन दिए।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सकारात्मक सन्देश प्रवाह गर्न र पार्टीको पुरानो सिट सुरक्षित गर्न प्रदेश २ मा राजपासँग सहकार्य गरिएको बताए।
उनले दुवै पार्टीले उठाएका उम्मेदवार बाहेक अरुको पक्षमा मतदान नगर्न पार्टीका जनप्रतिनिधिलाई सचेत गराए। फरक प्रसङ्गमा नेकपा वरिष्ठ नेता नेपालले सङगीतले जातिय भावना हटाई समाजलाई एकतावद्ध बनाउन ठूलो योगदान पुर्याइरहेको बताए।