माघ २ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको संविधानमा व्यापक फेरबदल गर्ने प्रस्ताव गरेको केही घण्टापछि प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन्।
प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएसँगै उनको नेतृत्वमा रहेको सरकार विघटन भएको छ। राष्ट्रपति पुटिनले गरेको प्रस्ताव पारित भएमा सत्ता सन्तुलनमा महत्वपूर्ण परिवर्तन हुने छ। शक्ति राष्ट्रपतिबाट संसदमा जानेछ।
राजीनामा दिएका मेदभेदेवले भनेका छन्, ‘प्रस्तावित परिवर्तन लागु भएमा संविधानका सबै धारा फेरिने छन् तर सत्ता सन्तुलन तथा शक्तिको स्वामित्वमा पनि परिवर्तन आउने छ। कार्यकारी शक्ति, संसदीय शक्ति, न्यायपालिकाको शक्ति सबैमा परिवर्तन हुनेछ। यहि कारण हालको सरकारले राजीनामा दिएको हो।’
राष्ट्रपति पुटिनको प्रस्तावमाथि सर्वासाधारणले आफ्नो मत दिने छन्। सर्वसाधारणले प्रस्ताव पारित गरेमा सत्ताको शक्ति राष्ट्रपतिबाट संसदमा जाने छ। पुटिनले प्रधानमन्त्रीबाट राजीनामा दिएका मेदभेदेवलाई राष्ट्रिय सुरक्षा परिषदको उपाध्यक्ष बनाउने बताएका छन्।
पुटिनले मेदभेदेवलाई प्रधानमन्त्रीबाट किन हटाएका हुन् भन्ने स्पष्ट भएको छैन । तर उनी आफू लामो समय रुसको शक्तिमा रहनका लागि यस्तो गरेको विश्लेषण गरिन्छ।
पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिँदै छ। त्यसपछि पनि पुटिन आफ्नो कार्यकाल लम्ब्याउन वा कुनै न कुनै रुपमा रुसको सत्ता केन्द्रमा आफू रहन चाहन्छन्।
हाल कायम रहेको संवैधानिक व्यवस्था अनुसार पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति बन्न पाउने छैनन्। त्यसले उनले संवैधानिक फेरबदलको प्रस्ताव ल्याएका हुन्।
संसदलाई वार्षिक रुपमा गर्ने सम्बोधनको क्रममा पुटिनले यो प्रस्ताव ल्याएका हुन्। त्यस क्रममा पुटिनले अब राष्ट्रपतिको कार्यकाल दुईपटकमा सीमित गर्ने बताएका छन्। पुटिनले स्टेट काउन्सिलको शक्ति बढाउने प्रस्ताव गरेका छन्। यसको अध्यक्षता राष्ट्रपति पुटिनले नै गरेका छन्। एजेन्सी