न्यूयोर्क, माघ २ । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपालीहरुले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठसहितको सहभागितामा विरोध प्रदर्शन गरिएको हो।
विरोध प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यमा बस्ने नेपालीहरु समेत सहभागी भएका थिए। लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सासहितको टिसर्ट लगाएका उनीहरुले सीमा अतिक्रमणविरुद्ध नाराबाजी गरेका थिए।
विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो। ज्ञापनपत्रमा भारतीय पक्षले सार्वजनिक गरेको नक्सामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आह्वान गरिएको छ।
प्रदर्शनलाई सम्बोधन गर्दै सीमाविद श्रेष्ठले भारतीय अतिक्रमण बन्द हुनुपर्ने र नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने बताए। उनले सरकारलाई कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्न सुझावसमेत दिए।
कार्यक्रममा सञ्चारकर्मी एवम् उक्त कार्यक्रमका पहलकर्ता प्रेम बाँनियाले भारतीय पक्षबाट भएको सीमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताए।
अर्का पत्रकार अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित भएको बताए।
कार्यक्रममा लोक गायक रामप्रसाद खनाल, गायिका सपना श्री र कवयित्री शकुन ज्ञवालीले देशभक्तिपूर्ण गीत तथा कविता सुनाएका थिए।
कार्यक्रममा पत्रकार किशोर पन्थी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, सामाजिक कार्यकर्ता सोमनाथ घिमिरेलगायत सहभागी थिए।