काठमाण्डौं, माघ २ । लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजारमा केही दिनयता सुधार देखिएको छ। साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा बुधबार पनि उभार आएपछि लगानीकर्ताहरु हौसिएका छन्।
सबैभन्दा बढी सोमबार नेप्से परिसूचक एकैचोटि ४३ अंकले बढेको थियो। मंगलबार थोरै गिरावट आए पनि बुधबार पुनः बजार २० दशमलव ८५ अंक माथि उक्लेको छ। नेप्से परिसूचक एक हजार २ सय ८४ दशमलव २३ कायम भएको छ।
कारोबार रकम पनि यस साता उच्च देखिएको छ। २ दिन लगातार अर्ब माथि भएको कारोबार बुधबार पनि अर्ब नजिकै पुग्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ९० करोड ४८ लाख १३ हजार ९३२ रुपैयाँ बराबरका सेयर खरिदबिक्री भएका छन्।
तर, यो साता देखिएको हरियालीबाट लगानीकर्ता दंग भए पनि यो उभार कहिलेसम्म टिक्ला भन्ने चिन्ता उत्तिकै छ।




